-छवि अनित्य

ओ फरीन[1] !

एउटै हो हामीले चढेर आएको जिन्दगीको उकालो

यो देउरालीबाट किन हेर्छौ तिमी आलीम[2]

पर्दाभित्र बसेर ?

 

तिमी अक्सा[3], तिमी आतिफा[4]

हेर त ओ पिहरबा[5] !

कसरी लुकेको मेरो अघिल्तिर दुई-दुईवटा जन्नत[6] ?

एउटा बादल ओढेर

अर्को बुर्का ओढेर !

 

कमसेकम म देख्न सकूँ-

को हौ तिमी ?

जान-ए-गजल !

तिमी अमिरा[7] – यो दिलको

तिमी जमीरा[8] – धड्कनको

 

 
लामो छ ओ जान-ए-अदा,

जिन्दगी यो यात्राभन्दा लामो छ

मुकाम[9] हुनसक्छ एउटै, वा बनाउन सकिन्छ

 

ओ नदीरा[10], प्रिय जारा[11] !

यो हुनेछैन मेहरबानी[12] या उर्यानी[13]

आऊ छाडिदिऊँ समयको बतासलाई बेपरवाह

 

उडाओस् उसैले पर्दा

देखाओस् दुनियाँको खुबसुरती

ओ फरीन !

एउटै हो हामीले चढेर आएको जिन्दगीको उकालो

फरक फरक गाडीमा

यो देउरालीबाट किन हेर्छौ तिमी मात्रै आलीम

पर्दाभित्र बसेर ?



[1] साहसी केटी

[2] दुनियाँ

[3] बुद्धिमान

[4] स्नेह

[5] प्रिय

[6] स्वर्ग

[7] राजकुमारी

[8] गीत

[9] गन्तव्य

[10] अद्वितीय

[11] सुन्दर फूल

[12] कृपा

[13] नग्नता

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’
‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’
‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै राजधानीजस्तै मेरो दिल पनि झिलमिली पार्ने दिन कैले आउला है ?’
श्रेया दुई हातले समातिरहेको कफीको कप टेबलमा राखेर झ्यालबाट बागबजारको सडकमा गुडिरहेका गाडीहरूतिर हेरिरहिन् । म उनलाई हेरिरहेँ । केहीबेर यसैगरी बसिरह्यौँ ।
काठमाडौंमा यसरी बसेर कफी पिउने फुर्सद त कहाँ पो हुन्छ र ? तर हामी प्रायः बस्छौँ । बागबजारको यो फास्टफुडको पहिलो तलामा । संयोग नै होला, यी दुई महिनामा हामी बस्ने टेबल हामी पुग्दा खाली नै हुने गरेको छ । र, हाम्रो अर्डर पनि वेटरलाई थाहा छ, उनका लागि मिल्क कफी र मलाई एउटा हट लेमन विथ हनी ।
सन्नाटा मलाई मनपर्दैन । उसो त बोली पनि राख्दिनँ ।
‘तर तिमीलाई कुनै केटाले ट्राई किन गर्दैन ?’
‘राम्री छु नि त !’
यो मैले नसोचेको जवाफ । दुनियाँ राम्रीहरूको पछि लागेको छ । अनि यिनलाई आफू राम्री भएकै कारण एक्लो हुनुपरेको पीडा !
‘तब त झन् सबैले नजर लाउनुपर्ने हैन र ?’ जिज्ञासा मेटाइहाल्नु थियो मलाई ।
‘यार यो केटाहरूको नि... अरे राम्री जति सबै स्कुल लाइफमै रिजभ्र्ड हुन्छन् भन्ने छ र ? सब सोच्छन् कि आई एम बुक्ड !’ अँ, कुरो यस्तो रहेछ । सोचेँ, हो पनि ।
‘हो त, मलाई नि त्यस्तै लाग्थ्यो ।’
‘अनि त एक कप कफीका लागि मलाई एक महिना अलमलाई राखेको,’ अलिकति नखरा टाइपको अनुहार बनाइन् । श्रेयाले मलाई तीन महिना अघिदेखि नै कतै बसेर कफी लिउँ भनेकी हो । तर एक महिना त यसै बिताइदिएँ । अफिस आफ्नो ठाउँमा छ । समय त चाहेको भए जसरी पनि निकाल्न सक्थेँ नि अहिलेजस्तै । तर, यति राम्री मान्छेले कफीका लागि अफर गर्दा आफँैलाई अलि शरम लागेको थियो ।
‘साँच्चै तिम्रो ब्वाइफ्रेन्ड भाको भए त कफी खान आको म मुक्का खाएर जान्थेँ होला है ?’
‘डरपोक ! यो सहरमा कसलाई थाहा छैन कि तिमी म्यारिड हौ ।’
उफ्फ ! मेरो त प्रोफाइल पिक्चरमै पो श्रीमतीसँगको फोटो छ । अनि, कम्तीमा सातामा एकपटक अपडेट गरिरहेको हुन्छु, शैलीका तस्बिरहरू । शैली, मेरी अढाई वर्षकी सुपुत्री ।
‘तिम्रो मतलब म्यारिडहरूको गर्लफ्रेन्ड हुन्न ? कि उनीहरू कोही केटीप्रति आकर्षित नै हुँदैनन् ?’
‘हुन्छन् कि, तर मैले त तिमीलाई ब्वाइफ्रेन्ड बनाउन खोजेको होइन नि त ।’
उनको कफीको कप अब आधा मात्र भरिएको छ । उनी फेरि पनि बागबजारको व्यस्त सडकलाई नियालिरहेकी छन् ।
‘किन यति धेरै गाडीका टायरहरू लगातार कुल्चिएर हिँडिरहेछन् यो सडकलाई ? कि आफ्नो गन्तव्यमा पुग्न कसैलाई नकुल्ची नहुने हो ? तर हैन, यो सडक पो बरु निरन्तर घोटाइरहेछ ती टायरहरूलाई । आफूमाथि भएर हिँडेबापतको कर असुली गरेको होला नि ! कुरो यसो पनि होइन कि ? यहाँ गन्तव्यमा ती टायर कहाँ पुग्छन् र ? पुग्ने त सवारी गर्ने मान्छे हो नि । बित्थामा घोटिन्छन् टायर । अकारण कुल्चिइन्छ सडकको डँडाल्नु ।’
श्रेया यस्तै–यस्तै केही सोच्दै होलिन् ।
‘यार, रविन मलाई एउटा ब्वाइफ्रेन्ड खोज्देउ न । तिमी जस्तै... तर बिहे गर्ने गरी ।’
शून्यता तोडियो ।
‘के गछ्र्यौ त, अलि दुई–चार वर्षअघि नै मलाई भेटेको भए यस्तो गाह्रो पर्दैैनथ्यो ।’ उडाउनै खोजेको त होइन । तर, फुस्कियो मुखबाट ।
‘यस्तै हो । फेसबुकमा तिम्रो फोटो देख्नेबित्तिकै एड गरेको त हो नि । साह्रै मनपरेको थियो तिम्रो मुस्कान । तिम्री बूढी मभन्दा अघि भैछिन् त मेरो के दोष ?’ श्रेयालाई साँच्चै पछुतो थियो मलाई अलि ढिला गरी भेटेकामा ? म निश्चित छैन । तर हुनुपर्छ, हुनैपर्छ ।
‘अनि तिम्रा बालाई भन न त ज्वाइँ खोज्न ।’
‘मेरा बाले खोज्ने जति खोजिसके रविन । यो बाको वशको कुरो हैन । आजित भैसके रविन मेरा बा... ।’ अचानक चुलबुले श्रेया मलिन भइन् । मेरो कपमा अलिकति कफी बाँकी छ । कप खाली गराउन उठाइसकेको मैले कपलाई ओठसम्म पु¥याउन सकिनँ । कसैले गहिरिएर हेथ्र्यो भने यतिबेला मेरा आँखामा करोडौँ प्रश्न छन् । कफीको कप फर्किएर टेबलमै पुग्यो । म उनलाई केही भन्न अनुरोध गरिरहेको थिएँ, मनमनै ।
श्रेयाको नजर फेरि पनि सडकमा दौडिरहेका सवारीमै थियो । म आफ्नो कुर्सीबाट उठेँ । झ्यालैमा पुगेर एकपटक सडकलाई हेरेँ, देखिएन । भक्तपुरबाट आएका पुराना मिनिबसको लर्कोले सडक छोपिएको थियो । सहर जतिसुकै स्मार्ट हुन खोजे पनि वर्षौं पुराना यी सवारीको दबदबा सजिलै हट्नेवाला छैन ।
‘रविन, मेरा बाबा–ममीले त्यस्तो गल्ती त केही गरेका छैनन् । तैपनि किन यो सजाय हामीसम्म भोगिरहेछौँ होला ?’
श्रेयाले आजसम्म मलाई कहिल्यै पनि आफ्नो परिवारको बारेमा केही भनिनन् । मैले सोध्न पनि आवश्यक ठानिनँ । यति थाहा छ, उनको पूरा नाम श्रेया शर्मा हो । फेसबुकमा यति नै लेखेकी छन् ।
‘आज मेरो फेमलीको केही कुरा भन्छु तिमीलाई ।’ उनको मुहारभरि उदासी ढाकिएको थियो । म कुर्सीमा आएर बसेँ । उनका कुरा जान्न म उत्सुक थिएँ ।
‘मेरो बाबा राधेश्याम पौडेल, ज्योतिष पण्डित हरिहरका साहिँला छोरा हुनुहुन्छ । हजुरबुबा ८२ पुग्नुभो । अझै पनि उहाँसँग चिना लेखाउन टाढाटाढादेखि आउनेको घुइँचो हुन्छ । हजुरबुबा बाबालाई पनि आफूजस्तै ज्योतिष बनाउन चाहनुहुन्थ्यो । तर, बाबाले स्कुलदेखि नै राजनीतिको बाटो रोज्नुभयो । कलेज पढ्दा विद्यार्थी आन्दोलनकै बेला हजुरबुबाका विरोधका बीच गाउँकै दलित समुदायकी छोरीसँग बिहे गर्नुभयो । ०४२ सालमा म जन्मिएँ । प्रजातन्त्र पुनर्बहाली भएकै वर्ष मेरो भाइको जन्म भयो । बुबाको चाहनाले हुन्थ्यो त मेरो सन्तान गणतन्त्रभन्दा जेठो हुन्थ्यो । दश वर्ष रविन... दश वर्ष मेरो बाबाले मेरा लागि केटो खोज्नुभो । स्कुलदेखि नै धेरै केटाहरू मेरो पछि नलागेका होइनन् । तर सबै टाइम पास मात्र बनाउन खोज्थे । मेरो वास्तविकता थाहा पाएपछि सम्बन्ध लम्बियोस् भन्ने कसैले चाहेनन् । एकपटक कलेज पढ्दा एकजनाले खुबै पछ्यायो । मैले सबै कुरा भनिसकेपछि पनि उसले त्यसलाई स्वीकार गर्ने बतायो । मास्टर्सको फाइनल एक्जामपछि घरमा अनुमति लिएर माग्न आउने बताएर गयो । तर कहिल्यै फर्केन ।’
आँखा रसाएका थिए उनका । गाजल बचाउँदै आँसु पुछिन् । श्रेयाका नजर उनले टेकेको धरातलतिर थिए ।
‘बाबाले आफन्त सबैतिर कुरा चलाउनुभो । तर, ममीको नाम विष्णुमायाको पछाडि झुन्डिएको नेपालीले सबैलाई बिझायो । जब कि ममी आँखैमा राख्दा नबिझाउने हुनुहुन्छ । सबैले भन्छन्, म राम्री छु । फस्र्ट डिभिजनमा मास्टर्स सकेकी छु । बेरोजगार बसेकी छैन । तर बिहे गर्न, घर बसाउन अनुहार र योग्यताभन्दा ठूलो रहेछ, यो जातीय खाडल ।’
आफूले आफैँलाई व्यंग्य गरेझैँ फिस्स हाँसिन् उनी ।
‘थाहा छ, मेरो यो हालत देखेर होला, भाइले पोहोरै पोखरातिरबाट एउटी गुरुङसेनी भगाएर ल्यायो । मैले त्यसरी लैजान आँट गर्ने पनि कोही भेटिनँ । मनको कुरा खोलेर भनेँ पनि त कसलाई ? अरु कसैको भइसकेको मान्छेलाई !’
म त अघि नै चार्ज सकिएको मोबाइलझैँ भइसकेको थिएँ । तर उनी अझै केही भनिरहेकी थिइन् ।
उनलाई पछुतो मैले छिटै बिहे गरेकामा हुन सक्थ्यो । वा मलाई ढिलो भेटेकामा हुन सक्थ्यो । यसो पनि हुन सक्थ्यो कि उनले केही अगाडि नै उनको भाइजस्तै आँटिलो कोही खोज्न नसकेकामा उनी पछुताइरहेकी थिइन् । तर बाउआमाले अन्तर्जातीय विवाह गरेकामा होइन । यसो त हुनै सक्दैन । उनका बाबा त परिवर्तनका पक्षधर थिए । सिंगै समाजको जातीय विभेदलाई पन्छाउनुपर्छ भन्ने चाहन्थे । उनको विवाह त क्रान्तिको विजारोपण थियो , सामाजिक क्रान्तिको । सजाय कहिलेकाहीँ राम्रै काम गर्नेले पनि त भोग्नुपर्छ । चोरहरूको बस्तीमा पुलिस बनेर उभिनु कम्ता जोखिमपूर्ण हुन्छ र ?
म आफैँभित्र पो हराइरहेको रहेछु, धत् !
‘ह्या, के सारो सिरियस भएछु नि म त ?’ टोलाइरहेको मलाई बुझेर होला श्रेयाले हाम्रो टेबललाई रोमान्टिक बनाउन खोजिन् ।
कफीको कप पूरै ठन्डा भइसकेको छ ।
वेटर बिल लिएर आइपुगे । म घोत्लिँदै गर्दा उनले बिल मगाउन भ्याइसकिछन् । पैसा उनैले दिइन् । म चुपचाप हेरिरहेँ ।
‘अनि कि रविन, मैले बिहे गर्दा चैँ ठूलै प्रलय नै रोकिने पनि त हैन नि है ? उल्कै होला मलाई आमा भन्ने कोही मेरै कोखबाट नजन्मेला !’
मसँग कुनै जवाफ थिएन । जानिनजानी अलिकति दाँत देखाइदिएँ ।
भ¥याङ ओर्लंदै गर्दा उनले फेरि प्रश्न गरिन्, ‘यो बिहे नगरी मरेँ भने के होला है ?’
बाटोमा निस्कँदासम्म पुराना बसहरूको लस्कर कम भइसकेको थियो । मसँग छुट्टिएर उनी डिल्लीबजारतिर लागिन् । बाइक स्टार्ट गर्नुअघि एकपटक अघि हामी बसेको झ्यालतिर हेरेँ । वेटरको नजर श्रेयालाई परैसम्म पछ्याइरहेको थियो ।

http://www.nagariknews.com/news/28670/
छवि अनित्य, हेटौँडा
२३ असोज, 
‘ब्ल्याकमा पेट्रोल खोज्दै हुनुहुन्छ ? पख्नुस् ! बरु मोटरसाइकल नचलाउनुस् ।
तर ब्ल्याकमा पाइने मिसावटयुक्त तेल मोटरसाइकलमा नहाल्नुस् ।’ यो भनाई हो, भाजुरत्न ईन्जिनियरिङ हेटौंडाका मोटरसाइकल मेकानिक मनोज नेपालीको ।
पछिल्लो समय देशैभर पेट्रोलियम पदार्थको चरम अभाव भैरहँदा कालाबजारीहरुले महँगो मूल्यमा लुकिछिपि तेल उपलब्ध गराइरहेका छन् ।
तर नियमित भन्दा तीन गुणासम्म महँगो मूल्यमा पाइने तेलको गुणस्तर भने हुँदैन । हेटौंडाका गाविन्द पौडलले एक हप्तासम्म पेट्रोलको अभावमा मोटरसाइकल थन्क्याए । पछि ३ सय ५० रुपैयाँ तिरेर पाइएको एक लिटर तेल हालेर मोटरसाइकल त गुडाए , तर दुई किलोमिटरको बाटोमा तीनठाउँमा मोटरसाइकलको इन्जिन बन्द भयो ।
राज मोटर्स हेटौंडाका राजन श्रेष्ठ भन्छन् — ‘ब्ल्याकमा पाइने तेल शुद्ध हुँदैन । मिसावट युक्त तेल हालेपछि त्यसले मोटरसाइकलको कार्बोेरेटरमा सबैभन्दा पहिले असर गर्छ र स्टार्ट बन्द हुन्छ ।’ श्रेष्ठका अनुसार अहिले कालाबजारीहरुले उपलब्ध गराउँदै आएको पेट्रोलमा हार्डवेयर पसलमा पाइने तारपिन (टार्पेन्टाइन), घर रङ्गाउने पेन्ट्समा प्रयोग गरिने थिनर लगायतका केमिकलहरु सबैभन्दा बढी प्रयोग भइरहेका छन् ।
यसले बिस्तारै मोटरसाइकलको भल्भमा असर गर्छ र इन्जिन नै खोल्नु पर्ने हुन्छ । भाजुरत्नका मोटरसाइकल मेकानिक मनोज नेपाली भन्छन् — ‘नयाँ मोटरसाइकलमा मिसावटयुक्त तेल प्रयोग गर्नुभयो भने त त्यसको लाइफ नै गयो ।’ नेपालीका अनुसार दुई हप्ताको बीचमा इन्जिन नै खोल्नुपर्ने गरी ग्यारेजमा चारवटा मोटरसाइकल आइसकेका छन् । मिसावट युक्त तेलको जलन हुँदा रिङ पिस्टनमा कार्बनको मात्रा अत्यधिक जम्मा हुन्छ ।
यसले गर्दा सुरुमा पिक अपमा समस्या देखिन्छ । उनि सुझाव दिन्छन् — ‘बरु यो समस्या नसुल्झेसम्म मोटरसाइकल नचढ्नुस् । तर मिसावट युक्त तेल हालेर इन्जिनको आयु समाप्त नपार्नुस् ।’ ........

घट्यो मोटरसाइकल बिक्रि:

दशैँ मुखैमा छ । यो समयमा अघिल्लो वर्ष राज मोटर्सले दैनिक एक दर्जन भन्दा बढी यामाहा मोटरसाइकल बिक्रि गर्ने गरेको थियो । तर प्रोपराइटर राजन श्रेष्ठले निराश हुँदै भने — ‘अहिले मुस्किलले एक दुई वटा मोटरसाइकल बुकिङ हुन्छ ।’
उता भाजुरत्नले पेट्रोलियम पदार्थको आपूर्ति रोकिएपछि मुस्किलले एक दर्जन मोटरसाइकल बिक्रि गरेको छ । जुन अत्यन्त न्यून हो । त्यसो त अहिले बजारमा मोटरसाइकल गुड्नै बन्द जस्तो भइसकेको छ । कालाबजारीहरुबाट पेट्रोल दिन भ्याउने एकदुईले मोटरसाइकल गुडाएका छन् । सीमाचोकका एक व्यवसायी भन्छन् — ‘कान फाट्ने गरी चर्को आवाजमा मोडिफाइड मोटरसाइकल गुडाउनेहरुबाट भने शान्ति मिलेको छ ।’

ब्ल्याकमा पनि पाइन छाड्यो पेट्रोल:

प्रहरी र आन्दोलनकारी दुबै पक्षबाट कडाई हुन थालेपछि दुई दिन यता कालाबजारीले पनि तेल भित्राउन सकेका छैनन् ।
दैनिक तराईका सीमावर्ती गाउँहरुबाट हेटौंडामा पेट्रोल उपलब्ध गराउँदै आएका एक मोटरसाइकल ग्यारेज सन्चालक भन्छन् — ‘अहिले आन्दोलनकारीहरुले मोटरसाइकलमा पनि फूल ट्याङ्क गरेर ल्याउन दिएका छैनन् । ’ वीरगंज, निजगढ, तथा रौतहटका विभिन्न गाउँहरु र सर्लाहीसम्म पुगेर ल्याइएको तेल हेटौंडामा दुई दिन अघिसम्म उपलब्ध थियो । यसरी ल्याइएको तेल प्रतिलिटर ३ सय रुपैयाँ सम्म उनिहरुले बिक्रि गर्ने गरेका थिए । तर दुई दिन यता त्यो पनि उपलब्ध हुन छाडेको छ ।
सिमरा, निजगढ, चन्द्रपुर लगायतका ठाउँमा आन्दोलनकारीहरुले पेट्रोल पोखिदिन थालेपछि हेटौंडामा कालाबजारी गर्नेहरुले पनि तेल उपलब्ध गराउन सकेका छैनन् । बिहिबारसम्म ३ सय ५० रुपैयाँ तेल बिक्रि भए पनि शुक्रबारबाट भने उपलब्ध हुन छाडेको छ ।
द्वन्द्वको घाउ समाजमा अझै पनि व्याप्त छ । १५ हजार भन्दा बढी घरमा लाखौँ मानिसलाई त्यो घाउ घरिघरि बल्झिरहन्छ । ती सबैले मनमा प्रतिशोधको भावना राखे भने ? ती सबैले मनमा द्वेष पालेर दण्डित नगराई नछाड्ने अडान राखिरहे भने ???
सधैँभरी हाँसेरै अनि हँसाएरै दर्शकको मन जितिरहेकाहरूको जम्बो टोलीले आफ्नै शैलीमा गरेको भद्र प्रश्न हो, वडा नं. ६ ।
सधैँभरी नयाँ स्वाद खोजिरहने दर्शकलाई आफैँले देखेर अनि भोगेर आएको विगत सम्झाएको छ चलचित्रले । दस वर्षे द्वन्द्वमा कतै आतङ्ककारीका नाउँमा अनि कतै सुराकीका नाउँमा धेरै नेपालीले ज्यान गुमाएका छन् । त्यही घटनाक्रममा कतिपयको घरबार उजाडिएको छ । कतिपयका सपना टुटेका छन् । यिनै ससाना घटनाक्रमलाई अभिमन्यु निरवीले निकै सशक्त ढंगले जोडेका छन्- चलचित्रको कथामा ।
विशेषत: माओवादी द्वन्द्वको कथालाई पर्दामा उतार्दा सिनेकर्मीहरू कतै न कतै पक्षपोषण गरिरहेका हुन्छन् । चलचित्र हेर्दै गर्दा दर्शकमा उत्सुकता पक्कै हुन्छ कि यसले कसैलाई काखापाखा गर्ने त होइन ? तर त्यो सन्दर्भमा वडा नं. ६ उत्तीर्ण भएको छ । उज्ज्वल घिमिरे यस अर्थमा सफल भएका छन् ।
दीपकराज गिरी र दीपाश्री निरौलासँगै निर्मल शर्माले यसअघि बनाएको 'छ एकान छ'कै शृङ्खलाको रुपमा हेरिएको चलचित्रले राजनीतिक विषयवस्तुले समाजमा पारेको प्रभावलाई निकै शालीनताका साथ प्रस्तुत गरेको छ । यसमा दीपक बज्राचार्यको क्यामेराले पनि उत्तिकै साथ दिएको छ । त्यसो त गम्भीर विष्ट र शंकर विसिको कोरियोग्राफी पनि कम महत्वपूर्ण छैन ।
चलचित्र हेर्दै गर्दाको झण्डै अढाई घण्टा दर्शकलाई भरपूर मनोरञ्जन गराउन केदार घिमिरेले कुनै कसर छाडेका छैनन् । तर हाँस्यव्यङ्ग्यको नाउँमा पछिल्लो समयका चलचित्रमा प्रयोग भइरहेका भद्दा संवादबाट पुरा बचेर । अनि यसमा पुरापुर साथ दिएका छन् जितु नेपाल, सिताराम कट्टेल र दयाहाङ राईले । अन्य चलचित्रकर्मीहरूले यसबाट केही पाठ सिक्नुपर्छ । प्रियङ्का कार्कीले आफ्नो भूमिकालाई राम्रो न्याय गरेकी छिन् । नीर शाहको अभिनयलाई तारिफ नगरी रहन सकिन्न ।
प्रविधिको प्रयोग/पहुँच आफ्नो ठाउँमा होला । तर आफ्नै मौलिक परिवेशका कथावस्तुलाई खोजी गरेर 'वडा नं. ६'ले त्यसको प्रस्तुतीलाई पनि वजनदार बनाउन सफल भएको छ । नेपाली चलचित्र निर्माताहरूले यसैगरी आफ्नो प्रस्तुतीमा निखार ल्याउँदै जाने हो भने बलिउडबाट हलिउडसम्म पुगिसकेका नेपाली दर्शकलाई फेरि कलिउडमै फर्काउन अवश्य सफल हुनेछ ।
(जाँदाजाँदै माओवादी जनयुद्धमा होमिएका र एमाओवादीका तर्फबाट पहिलो संविधानसभामा सभासद समेत भइसकेका नेता प्रह्लाद लामिछानेको ॐ हल हेटौँडामा चलचित्र हेरिसकेपछिको प्रतिक्रिया: "हामीले युद्धलाई भोगेर आएका हौँ । त्यसको कथावस्तुलाई कतै तोडमोड पो गर्छ कि जस्तो लागेको थियो । तर रहेनछ । खुशी लाग्यो । चलचित्र उत्कृष्ट बनेको छ ।")
आजको दिन मकवानपुरे साहित्यका लागि एउटा विशेष दिनको रुपमा स्मरणीय रहनेछ ।
‘हेटौंडा यसरी बोल्छ...’ शीर्षकमा काठमाण्डौको भृकुटीमण्डमा सम्पन्न कार्यक्रम धेरै हिसाबले अर्थपूर्ण रहनेछ ।
भृकुटीमण्डपमा आज हामी बोल्यौं र भन्यौं—हेटौंडा यसरी बोल्छ...
हेटौंडा मात्र एक प्रतिनिधि पात्र थियो, जसले राजधानीलाई सधैं भनिरहेको हुन्छ— काठमाण्डौ बाहिर पनि साहित्य भन्ने केही छ ।
हामी ज्ञाता हुँदै होइनौँ । जोरी खोज्नु हाम्रो उद्देश्य पनि होइन । बरु यसो भनौँ, यो पहिचानको खोजी हो । राजधानीमा बसेर, राजधानीबाटै अक्षरको खेती गरेर, यहीँको चस्माले देशभरीको साहित्यिक मुहार हेरिबसेकाहरुलाई नेपाल खाल्डो बाहिर पनि केही गर्नेहरु छन् भन्ने आभाष दिलाउनु कार्यक्रमको उद्देश्य हो (मेरो नीजि विचार) । आज हेटौंडा मात्र होइन, देशैभर सुन्दर सिर्जना भइरहेका छन् । आशा छ, यस कार्यक्रमले कथित केन्द्र र मोफसल भन्ने कुरा एउटा भ्रम सिवाय केही होइन भन्ने तथ्यमा केही बल प्रदान गर्नेछ ।
हेटौंडालाई बोल्ने मञ्च प्रदान गर्नुभएकोमा बृहत पुस्तक प्रदर्शनी तथा साहित्य उत्सवका सम्पूर्ण टोलीप्रति आयोजक संस्था साहित्य सङ्गम मकवानपुरको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं । फेसबुक र टेलिफोनमार्फत भएको जानकारीलाई सहर्ष स्वीकार गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण उपस्थिति जनाउनुभएका तपाइँ सम्पूर्णलाई धन्यवाद । कामविशेषले समय मिलाउन जसले सक्नुभएन, हामी यतिमै खुशी छौं कि तपाइँले हाम्रो कार्यक्रमका बारेमा चासो देखाइदिनुभयो ।