तिमी जो कोही हौ !

Anitya | 7:41 PM | 0 comments

 


-छवि अनित्य

ओ फरीन[1] !

एउटै हो हामीले चढेर आएको जिन्दगीको उकालो

यो देउरालीबाट किन हेर्छौ तिमी आलीम[2]

पर्दाभित्र बसेर ?

 

तिमी अक्सा[3], तिमी आतिफा[4]

हेर त ओ पिहरबा[5] !

कसरी लुकेको मेरो अघिल्तिर दुई-दुईवटा जन्नत[6] ?

एउटा बादल ओढेर

अर्को बुर्का ओढेर !

 

कमसेकम म देख्न सकूँ-

को हौ तिमी ?

जान-ए-गजल !

तिमी अमिरा[7] – यो दिलको

तिमी जमीरा[8] – धड्कनको

 

 
लामो छ ओ जान-ए-अदा,

जिन्दगी यो यात्राभन्दा लामो छ

मुकाम[9] हुनसक्छ एउटै, वा बनाउन सकिन्छ

 

ओ नदीरा[10], प्रिय जारा[11] !

यो हुनेछैन मेहरबानी[12] या उर्यानी[13]

आऊ छाडिदिऊँ समयको बतासलाई बेपरवाह

 

उडाओस् उसैले पर्दा

देखाओस् दुनियाँको खुबसुरती

ओ फरीन !

एउटै हो हामीले चढेर आएको जिन्दगीको उकालो

फरक फरक गाडीमा

यो देउरालीबाट किन हेर्छौ तिमी मात्रै आलीम

पर्दाभित्र बसेर ?



[1] साहसी केटी

[2] दुनियाँ

[3] बुद्धिमान

[4] स्नेह

[5] प्रिय

[6] स्वर्ग

[7] राजकुमारी

[8] गीत

[9] गन्तव्य

[10] अद्वितीय

[11] सुन्दर फूल

[12] कृपा

[13] नग्नता

Category:

0 comments