-छवि अनित्य

ओ फरीन[1] !

एउटै हो हामीले चढेर आएको जिन्दगीको उकालो

यो देउरालीबाट किन हेर्छौ तिमी आलीम[2]

पर्दाभित्र बसेर ?

 

तिमी अक्सा[3], तिमी आतिफा[4]

हेर त ओ पिहरबा[5] !

कसरी लुकेको मेरो अघिल्तिर दुई-दुईवटा जन्नत[6] ?

एउटा बादल ओढेर

अर्को बुर्का ओढेर !

 

कमसेकम म देख्न सकूँ-

को हौ तिमी ?

जान-ए-गजल !

तिमी अमिरा[7] – यो दिलको

तिमी जमीरा[8] – धड्कनको

 

 
लामो छ ओ जान-ए-अदा,

जिन्दगी यो यात्राभन्दा लामो छ

मुकाम[9] हुनसक्छ एउटै, वा बनाउन सकिन्छ

 

ओ नदीरा[10], प्रिय जारा[11] !

यो हुनेछैन मेहरबानी[12] या उर्यानी[13]

आऊ छाडिदिऊँ समयको बतासलाई बेपरवाह

 

उडाओस् उसैले पर्दा

देखाओस् दुनियाँको खुबसुरती

ओ फरीन !

एउटै हो हामीले चढेर आएको जिन्दगीको उकालो

फरक फरक गाडीमा

यो देउरालीबाट किन हेर्छौ तिमी मात्रै आलीम

पर्दाभित्र बसेर ?



[1] साहसी केटी

[2] दुनियाँ

[3] बुद्धिमान

[4] स्नेह

[5] प्रिय

[6] स्वर्ग

[7] राजकुमारी

[8] गीत

[9] गन्तव्य

[10] अद्वितीय

[11] सुन्दर फूल

[12] कृपा

[13] नग्नता

सरकार !
सदियौँदेखि तपाइँले देखाइआएको त्यो भोटोको हकदार
मै हुँ त्यो ‘ज्यापू’,
जसले हरायो आफ्नै खेतको आलीमा
बहुमूल्य रत्नजडित उपहार— त्यो भोटो
के फर्काउनुहुन्छ आउने सालको जात्रामा ?

छैन मसँग कुनै प्रमाण यसपाला पनि
कि मेरै हो त्यो भोटो ।

म ज्यापू,
भन्नुस् मलाई्— बाउचा, बेखामान, पासा या साहुजी,
जो लाग्छ सजिलो तपाइँलाई ।
हुँ त म आखिर एक ज्यापू नै ।
तर छैन मसँग मेरो भोटोको कुनै लालपूर्जा,
न दिएर गयो नागराज कर्कोटकले१ यो भोटोको कुनै प्रमाणपत्र
छैन कुनै प्रमाण मसँग यसपाला पनि
कि मेरै हो त्यो भोटो,
न फेरि आउँछन् कर्कोटक स्वयम्
टौदहबाट मेरा साक्षी ।

बेमान एउटा भूतको आँखा लागेपछि भोटोमा
गुणकामदेव राजादेखि आजसम्म पनि
धाउँदै छु सरकार हरेक वर्ष पेसी
म यो मच्छिन्द्रनाथको रथको पछिपछि !
र यस वर्षपनि रहेन कुनै प्रमाण मसँग
कि मेरै हो त्यो भोटो ।

तर सरकार ! भोटो त मेरै हो !

दाबी गरिरहेछु उबेलादेखि हरेक साल,
कि भोटो मेरै हो ।
नरेन्द्रदेव२ सरकारलाई पनि बिन्ति गरेकै हुँ,
सिद्धिनरसिं सरकारहरु हुँदै
एघारै पुुस्ता शाही सरकारहरुलाई भनेकै छु
कि भोटो मेरै हो ।

जबजब मीननाथ३ भगवानका पछिपछि लागेर
गाःबहालबाट निस्कन्छन् मच्छिन्द्रदेव,
म्वाली, नायखी बज्छन् पाटनका गल्लीगल्ली ब्यूँझाउँदै,
म फेरि झसङ्ग हुन्छु र हेर्छु
वर्षौैँअघि आफूले त्यो भोटो छोडेको रित्तो आली
र दौडन्छु रथको पछिपछि जावलाखेलसम्म
वर्षौँअघि जहाँ मैले चिनेको थिएँ
नागराज कर्कोटकको उपहार त्यो भोटो बेमान भूतले लगाइराखेको ।
ख्याल गर्नु हुन्न सरकार !
छैन मसँग कुनै प्रमाण यसपाला पनि
कि मेरै हो त्यो भोटो ।

कि थाहा छ— मच्छिन्द्रनाथलाई, सन्त गुरु करुणामयलाई४
कि थाहा छ— पद्मपाणी बुद्ध भगवानलाई
रथको बुर्जाबाट हरेक वर्ष देखाइने त्यो भोटोमा खालि मेरै हक छ ।
कालो मखमलको कपडाभित्र मणिमाणिक, बहुमूल्य नवरत्न जडित त्यो भोटो
अझै कतिदिन बन्द गरिराख्ने सरकार लाहाछाप मारेर ?
के त्यो भोटोको अधिकार होइन— उसको हकवालाको ज्यानमा सजिने ?
के मेरो अधिकारै छैन— त्यो भोटो लगाएर हिँड्ने ?
यौटा बेमान भूतका लागि
कतिन्जेल बन्चित गरिराख्ने सरकार भोटोको अधिकार ?
भोटोको वास्तविक हकवालाको अधिकार ?
कि सिलबन्दी गरिराख्ने भोटो सदासदाका लागि ?

भोटो चोर्ने भूतहरु—
यतिबेला मेरो भोटोभन्दा पर
दाउ लाउँदैछन् मेरो घरमाथि, मेरा जमिनमाथि,
मेरो जलमाथि, मेरो ढुंगा—माटो, मेरो बाटो,
मेरो विधानमाथि,
कि सिलबन्दी गरिराख्ने सरकार यी सबैलाई
र देखाइरहने मेरो हातले नभेट्ने अग्लो रथको बुर्जाबाटै
जात्राजात्राहरुमा मात्रै ?

जगजाहेर छ—
म हुँ यौटा ज्यापू, त्यो भोटोको असली हकदार
फेरिपनि सरकार !
छैन कुनै प्रमाण मसँग यसपाला पनि
कि मेरै हो त्यो भोटो ।

के फर्काउनुहुन्छ आउने सालको जात्रामा मेरो भोटो ???

note:
१. लोकोक्ति अनुसार टौदहका नागराज कर्कोटक, जसले आफ्नी नागिनीको आँखाको रोग निको पारिदिए वापत उपहारस्वरुप रत्नजडित भोटो एक ज्यापूलाई दिएको र सो भोटो एक भूतले किसान व्यस्त भएको मौका पारी चोरेका थिए । पछि मच्छिन्द्रनाथको जात्रामा भूतले भोटो लगाएर आएको देखेपछि ज्यापूले आफ्नो भोटो चिनेर दाबी गर्दा विवाद उत्पन्न भएको र तत्कालिन लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनी निर्णय गर्न नसक्दा पर्याप्त प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाएर रथमा राखी अर्को वर्ष कसैले प्रमाण लिएर आएमा उसैलाई दिने भनी भोटो देखाइएको थियो । सोही अनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट चारैतिर घुमाउँदै भोटो देखाउने प्रचलन रहीआएको छ ।
२. लिच्छवी राजा नरेन्द्रदेवको पालादेखि राष्ट्रप्रमुख भोटोजात्राको प्रमुख अतिथि हुने प्रचलन रहीआएको छ । पछि मल्ल राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीबाट साइत हेराई उत्तरायण र दक्षिणायन स्पष्ट जनाउन मच्छिन्द्रनाथलाई ६÷६ महिना पाटन र बुङ्मतीमा राख्ने चलन चलाएको भनाइ छ ।
३. मीननाथालाई मच्छिन्द्रनाथको पिताका रुपमा वर्णन गरिएको पाइएको छ । जात्राका क्रममा मीननाथको रथलाई अघि लगाएर मच्छिन्द्रनाथको रथलाई पछिपछि तान्ने गरिन्छ ।
४. मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बी सन्त गुरु करुणामयका रुपमा र बौद्ध धर्मावलम्बी पञ्चबुद्धमध्येका चौथो बुद्ध पद्मपाणीका रुपमा पूजा गर्ने गर्छन् ।

तिमी
हुँदै होइनौ मेरो पहिलो प्रेम
र अन्तिम पनि,
किन भनौं म
कि बाँच्नै सक्दिन तिमी बिना ?

तिमीसँगै हाँसेको हाँसो
त्यो मेरी आमाको उपहार हो,
तिमीसँगसँगै हिँडेको पाइला पाइलामा
पदचापहरु छन् मेरा बाबुको,
मेरी दिदीको कोसेली मीठो बोलिको अभ्यास
तिमीसँगका भेटहरुका शब्दहरु हुन्,

मलाई थाहा छ
र तिमीलाई पनि
कि मैले सबैभन्दा पहिले तिमीलाई भेटेको होइन
न तिमीले मलाई ।

यात्रा बाटो भएरै हुन्छ
सुन्दर बगैँचाहरुको
र बगैँचाहरुमा
अझ सुन्दर फूलहरु पनि हुन्छन् ।

हामी आइपुगेका हौं
हामी भेटिएको त्यो मोडसम्म एक अर्का बिना नै,
तिमी मेरा लागि
र म तिम्रा लागि
खाली सहयात्री हौं
र सहयात्रा गरिरहनेछौं
जीवन रहेसम्म
र बाँच्छौं एक्लै एक्लै सम्झनामा

म खाली सोचिरहेछु,
को हुन् मेरो पहिलो प्रेम—
मैले टेकेको धरती
या मलाई धरती टेकाउने धरती ?

०२ फाल्गुण २०६९


नटुंगिरहँदा
पटक पटकका अन्तिम युद्धहरु
चलिरहँदा
अनवरत वार्ताका सिलसिला
हर साँझका मसाल जुलुसमा—
बाँकी छ यौटा मसाल जल्न ।

अझैपनि,
मान्छे मुक्तिका नाममा लडाइन्छ,
संघर्षका नाममा बलि चढाइन्छ,
र दिनदिनै भाषणहरुमा
सहादतको इतिहास पढाइन्छ,
प्रत्येक मिर्मिरेमा
बाँकी छ अर्को तारा झर्न ।

मान्छे—
जता मन लाग्यो डो¥याइन्छ
भेडा बाख्रा जस्तै,
घिच्याइन्छ जबर्जस्ती—
बलि चढ्न नमान्ने बोकालाई झैँ
मानौंकि
रगतको आहालमा
डुबुल्की मार्न आइपुग्छ झुल्केघाम ।


उभिरहन्छ
चोकको सालिक दिनभर,
हेरिरहन्छ
रमिते श्रृंखला
चुपचाप चुपचाप ।

सबै मौनता समर्थन मात्र हुँदैन
बाँकी छ अर्को आँधी चल्न ।

मौनता स्वीकृति हुँदैहोइन सालिकको
मौनता भण्डार हो योजनाको

चलिरहँदा—
ताण्डव रवैया,
ढलिरहँदा—
आस्थाको धरोहर दिनदिनै
तिमी कुल्चिरहू सहिदका मर्म,
लत्याइरहू आमाका सपना,
एक दिन—
बाँकी छ सालिकको मान्छे सडकमा ओर्लन
एकदिन—
बाँकी छ अब सहिद बोल्न ।

आज छोराले
आकाशमा जून देख्यो
र साङ्केतिक प्रश्न गर्‍यो-
म कहिले त्यो जून टिप्न सक्छु ?

धेरै पछि
आज एकैछिन आकाशमा जून उदाउँदा,
धेरै पछि
आज एकैछिन आकाशमा बादल फट्दा,
धेरै पछि
आज पूर्णिमाको संयोग पर्दा,
जीवनमा पहिलो पटक
आजै छोराले आकाशमा जून हेर्‍यो
र औैंलाको इशाराले भन्यो—
‘मैले तिमीलाई नै चाहेको जूनु भावा !’

सधैँ यसरि उदाउँदैन जूनु भावा;
कहिले छोरो सुतिसकेपछि उदाउँछ,
कहिले आमाको काखमा रमाउँदै गर्दा उदाउँछ,
अनि देख्दैन उसले जूनु भावा ।
सधैँ यसरि फट्दैन आकाशमा बादल
कहिले मुसलधारे वर्षा बनेर ओइरिन्छ,
कहिले डम्म जगतै छोपिबस्छ बिनासित्ति
र देखिँदैन जूनु भावा ।
सधैँ परिरहन्न पूर्णिमाको संयोग पनि;
पूर्णिमा हुन्छ—
आकाश खुल्दैन,
आकाश खुल्छ—
पूर्णिमा हुँदैन ।

आकाश, जून र बादल,
आकाशमा जून र बादल,
बादलभित्र जून र आकाश,
कहिल्यै नटुङ्गिने लुकामारी खेलिरहन्छ
आकाश र बादल,
अनि ओझेल परिरहन्छ जूनु भावा
छोराको आँखाबाट ।

म सधैँ  राखिरहन चाहन्छु
जूनलाई छोराको आँखै अगाडि
र राखिरहन चाहन्छु छोरालाई
साधैँभरि जून देखाएर,
म चाहन्छु—
ऊ सधैँ जून टिप्ने उत्कट अभिलाषा
मनमा पालिरहोस्,
उद्देश्य राखिराखोस्—
भोलि जून छुने ।

तिम्री आमाले तिमीलाई जन्म दिइन्
र म बाउ भएँ
पीडा उनले सहिन्
म खुशीले गदगद भएँ
तर बाउ हुनु र बाउको कर्तव्य निभाउनु उस्तै छैन

थाहा छ बाउ हुनु र कर्तव्य पुरा गर्नुमा फरक छ,

मेरा बाले बाका बाले भन्दा बढी गरेका छन्

बराजुले बाजेलाई ढाकरमा नुन बोक्न सिकाएर बाउ भए
बाजेले बालाई बेँशीको तोरि-सामल ओसार्न लगाए,
भोटो र मजेत्रो बेरेर सिरेटो छल्न सिकाए र बाउ भए,
अनि तिम्रा बालाई
तिम्रा बाका बाले लट्टे र ढीँडोको गाँस च्याप्दै
कालोपाटीका अक्षर चिनाएर बाउ भए

हो त्यसैको अर्को कडि
म बाउ बन्ने अभिष्ठ गर्दैछु
तर समयको कठीन मोडमा
तिमी जन्मँदै संसार घुमिसकेका छौ
फेसबुकका भित्ता भित्तामा तिम्रो तस्विर टाँगिईसकेको छ
गुगलले तिमीलाई जन्मैदेखि चिनेको छ
मुट्ठीमा संसार बोक्ने युगमा
प्रविधिले खै के के सिकाउँछ तिमीलाई

आज तिमीले खोजेको कुरा सिकाउन त म सक्दिन
तर यति अवश्य सिकाउँछु
तिमी मान्छे बन्नुपर्छ, मेशिन होइन
र मान्छेसँग आफ्नोमात्र हैन
अरुकै नजरबाट पनि अरूलाई हेर्ने खुबी हुन्छ ।

Many people start their life on some special occasion,

it may be their birthday, or their special one's,

any historical or even the 14th Feb.

But it is totally different than them all,

I've started the day as the starting of the life today.

This is the day on which I got a new aim,

I'm sure the day leads towards a bright future,

Dear, I've started the life today.