जुनु भावा

Anitya | 10:42 AM | 2 comments

आज छोराले
आकाशमा जून देख्यो
र साङ्केतिक प्रश्न गर्‍यो-
म कहिले त्यो जून टिप्न सक्छु ?

धेरै पछि
आज एकैछिन आकाशमा जून उदाउँदा,
धेरै पछि
आज एकैछिन आकाशमा बादल फट्दा,
धेरै पछि
आज पूर्णिमाको संयोग पर्दा,
जीवनमा पहिलो पटक
आजै छोराले आकाशमा जून हेर्‍यो
र औैंलाको इशाराले भन्यो—
‘मैले तिमीलाई नै चाहेको जूनु भावा !’

सधैँ यसरि उदाउँदैन जूनु भावा;
कहिले छोरो सुतिसकेपछि उदाउँछ,
कहिले आमाको काखमा रमाउँदै गर्दा उदाउँछ,
अनि देख्दैन उसले जूनु भावा ।
सधैँ यसरि फट्दैन आकाशमा बादल
कहिले मुसलधारे वर्षा बनेर ओइरिन्छ,
कहिले डम्म जगतै छोपिबस्छ बिनासित्ति
र देखिँदैन जूनु भावा ।
सधैँ परिरहन्न पूर्णिमाको संयोग पनि;
पूर्णिमा हुन्छ—
आकाश खुल्दैन,
आकाश खुल्छ—
पूर्णिमा हुँदैन ।

आकाश, जून र बादल,
आकाशमा जून र बादल,
बादलभित्र जून र आकाश,
कहिल्यै नटुङ्गिने लुकामारी खेलिरहन्छ
आकाश र बादल,
अनि ओझेल परिरहन्छ जूनु भावा
छोराको आँखाबाट ।

म सधैँ  राखिरहन चाहन्छु
जूनलाई छोराको आँखै अगाडि
र राखिरहन चाहन्छु छोरालाई
साधैँभरि जून देखाएर,
म चाहन्छु—
ऊ सधैँ जून टिप्ने उत्कट अभिलाषा
मनमा पालिरहोस्,
उद्देश्य राखिराखोस्—
भोलि जून छुने ।


Category:

2 comments: