सन्तानप्रति

Anitya | 10:17 AM | 0 comments

तिम्री आमाले तिमीलाई जन्म दिइन्
र म बाउ भएँ
पीडा उनले सहिन्
म खुशीले गदगद भएँ
तर बाउ हुनु र बाउको कर्तव्य निभाउनु उस्तै छैन

थाहा छ बाउ हुनु र कर्तव्य पुरा गर्नुमा फरक छ,

मेरा बाले बाका बाले भन्दा बढी गरेका छन्

बराजुले बाजेलाई ढाकरमा नुन बोक्न सिकाएर बाउ भए
बाजेले बालाई बेँशीको तोरि-सामल ओसार्न लगाए,
भोटो र मजेत्रो बेरेर सिरेटो छल्न सिकाए र बाउ भए,
अनि तिम्रा बालाई
तिम्रा बाका बाले लट्टे र ढीँडोको गाँस च्याप्दै
कालोपाटीका अक्षर चिनाएर बाउ भए

हो त्यसैको अर्को कडि
म बाउ बन्ने अभिष्ठ गर्दैछु
तर समयको कठीन मोडमा
तिमी जन्मँदै संसार घुमिसकेका छौ
फेसबुकका भित्ता भित्तामा तिम्रो तस्विर टाँगिईसकेको छ
गुगलले तिमीलाई जन्मैदेखि चिनेको छ
मुट्ठीमा संसार बोक्ने युगमा
प्रविधिले खै के के सिकाउँछ तिमीलाई

आज तिमीले खोजेको कुरा सिकाउन त म सक्दिन
तर यति अवश्य सिकाउँछु
तिमी मान्छे बन्नुपर्छ, मेशिन होइन
र मान्छेसँग आफ्नोमात्र हैन
अरुकै नजरबाट पनि अरूलाई हेर्ने खुबी हुन्छ ।

Category:

0 comments