सालिकको मौनता

Anitya | 2:20 AM | 0 comments


नटुंगिरहँदा
पटक पटकका अन्तिम युद्धहरु
चलिरहँदा
अनवरत वार्ताका सिलसिला
हर साँझका मसाल जुलुसमा—
बाँकी छ यौटा मसाल जल्न ।

अझैपनि,
मान्छे मुक्तिका नाममा लडाइन्छ,
संघर्षका नाममा बलि चढाइन्छ,
र दिनदिनै भाषणहरुमा
सहादतको इतिहास पढाइन्छ,
प्रत्येक मिर्मिरेमा
बाँकी छ अर्को तारा झर्न ।

मान्छे—
जता मन लाग्यो डो¥याइन्छ
भेडा बाख्रा जस्तै,
घिच्याइन्छ जबर्जस्ती—
बलि चढ्न नमान्ने बोकालाई झैँ
मानौंकि
रगतको आहालमा
डुबुल्की मार्न आइपुग्छ झुल्केघाम ।


उभिरहन्छ
चोकको सालिक दिनभर,
हेरिरहन्छ
रमिते श्रृंखला
चुपचाप चुपचाप ।

सबै मौनता समर्थन मात्र हुँदैन
बाँकी छ अर्को आँधी चल्न ।

मौनता स्वीकृति हुँदैहोइन सालिकको
मौनता भण्डार हो योजनाको

चलिरहँदा—
ताण्डव रवैया,
ढलिरहँदा—
आस्थाको धरोहर दिनदिनै
तिमी कुल्चिरहू सहिदका मर्म,
लत्याइरहू आमाका सपना,
एक दिन—
बाँकी छ सालिकको मान्छे सडकमा ओर्लन
एकदिन—
बाँकी छ अब सहिद बोल्न ।

Category:

0 comments