मलामी (लघुकथा )

Anitya | 2:39 AM | 0 comments


रघुवीर आज अलि सबेरै शहर झरेको छ । हुन त उसलाई अलि ठूलै दलबल लिएर पार्टी कार्यालय आउनु भनेर हिजो साँझ अध्यक्षले फोन गरेका थिए । तर यिनले जमात जुटाउन सकेनन् ।
बलबहादुर उ भन्दा अघि हुइँकिसकेको जस्तो लाग्यो रघुवीरलाई । हिजै बाँसघारीबाट भाटाको बिटो काँध हालेर उकालो लागेको देखेको थियो उसले ।
३ साल खरदारको अन्तरवार्तामा फ्याँकिएपछि तल्लाघरे रामचन्द एक साल अघि दुबई उडेको थियो । ‘जाउँ’ भन्दा हिँडिहाल्ने डाँडागाउँका दुईचार अल्लारे थिए । ती पनि रामसाइँलाले दशैँमा बाँडेको पेश्की फछ्र्यौट गर्न बुङमती किनारमा पैसा छाप्न गइसकेका थिए ।
तिथिश्राद्ध टार्न गाउँमा बाँकी बचेका साइँला बाजेलाई लिएर रघुवीर पार्टी अफिस आइपुगे । आफैँले हुनेसम्म छानेर ल्याएको बाँसमा कपडाको मुर्दा कसे । साइँला बाजेले शंख फुके । पछिपछि नारा घन्काउँदै जुलुश अघि बढ्यो । अर्कातिर बलबहादुर मुर्दा जुलुशको प्रतिकार गर्न भाटो बोकेर आँखा तर्दै थियो ।
रघुवीरले भाइब्रेसनले उफारिरहेको मोबाइल हे¥यो । म्यासेज पढ्यो र साइँला बाजेलाई च्याप्प समातेर बलबहादुर भएतिर लग्यो ।
“बले ! काइँला बा बितेछन्, लास उठाउने लोग्नेमान्छे कोहि भएनन् भनेर भाउजुले खबर गरी । जाउँ हिड् ।”
बलबहादुरले भाटो साथीलाई थमाउँदै भन्यो–“तिमी कात्रो किनेर हिँड दाइ, यता दाउरा पसलतिर कतै लास बाँध्न पुग्ने बाँस छ कि; म लिएर आउँछु ।”
१२ माघ २०६९ (यो मैले आजसम्म लेखेको दोस्रो लघुकथा हो, जसमा सुधारात्मक प्रतिक्रियाको अपेक्षा गरेको छु ।)

Category:

0 comments