पहिलो प्रेम

Anitya | 9:39 AM | 0 comments


तिमी
हुँदै होइनौ मेरो पहिलो प्रेम
र अन्तिम पनि,
किन भनौं म
कि बाँच्नै सक्दिन तिमी बिना ?

तिमीसँगै हाँसेको हाँसो
त्यो मेरी आमाको उपहार हो,
तिमीसँगसँगै हिँडेको पाइला पाइलामा
पदचापहरु छन् मेरा बाबुको,
मेरी दिदीको कोसेली मीठो बोलिको अभ्यास
तिमीसँगका भेटहरुका शब्दहरु हुन्,

मलाई थाहा छ
र तिमीलाई पनि
कि मैले सबैभन्दा पहिले तिमीलाई भेटेको होइन
न तिमीले मलाई ।

यात्रा बाटो भएरै हुन्छ
सुन्दर बगैँचाहरुको
र बगैँचाहरुमा
अझ सुन्दर फूलहरु पनि हुन्छन् ।

हामी आइपुगेका हौं
हामी भेटिएको त्यो मोडसम्म एक अर्का बिना नै,
तिमी मेरा लागि
र म तिम्रा लागि
खाली सहयात्री हौं
र सहयात्रा गरिरहनेछौं
जीवन रहेसम्म
र बाँच्छौं एक्लै एक्लै सम्झनामा

म खाली सोचिरहेछु,
को हुन् मेरो पहिलो प्रेम—
मैले टेकेको धरती
या मलाई धरती टेकाउने धरती ?

०२ फाल्गुण २०६९

Category:

0 comments