द्वन्द्वको घाउमा मल्हम लगाउँदै 'वडा नं.६'

Anitya | 8:45 PM | 0 comments

द्वन्द्वको घाउ समाजमा अझै पनि व्याप्त छ । १५ हजार भन्दा बढी घरमा लाखौँ मानिसलाई त्यो घाउ घरिघरि बल्झिरहन्छ । ती सबैले मनमा प्रतिशोधको भावना राखे भने ? ती सबैले मनमा द्वेष पालेर दण्डित नगराई नछाड्ने अडान राखिरहे भने ???
सधैँभरी हाँसेरै अनि हँसाएरै दर्शकको मन जितिरहेकाहरूको जम्बो टोलीले आफ्नै शैलीमा गरेको भद्र प्रश्न हो, वडा नं. ६ ।
सधैँभरी नयाँ स्वाद खोजिरहने दर्शकलाई आफैँले देखेर अनि भोगेर आएको विगत सम्झाएको छ चलचित्रले । दस वर्षे द्वन्द्वमा कतै आतङ्ककारीका नाउँमा अनि कतै सुराकीका नाउँमा धेरै नेपालीले ज्यान गुमाएका छन् । त्यही घटनाक्रममा कतिपयको घरबार उजाडिएको छ । कतिपयका सपना टुटेका छन् । यिनै ससाना घटनाक्रमलाई अभिमन्यु निरवीले निकै सशक्त ढंगले जोडेका छन्- चलचित्रको कथामा ।
विशेषत: माओवादी द्वन्द्वको कथालाई पर्दामा उतार्दा सिनेकर्मीहरू कतै न कतै पक्षपोषण गरिरहेका हुन्छन् । चलचित्र हेर्दै गर्दा दर्शकमा उत्सुकता पक्कै हुन्छ कि यसले कसैलाई काखापाखा गर्ने त होइन ? तर त्यो सन्दर्भमा वडा नं. ६ उत्तीर्ण भएको छ । उज्ज्वल घिमिरे यस अर्थमा सफल भएका छन् ।
दीपकराज गिरी र दीपाश्री निरौलासँगै निर्मल शर्माले यसअघि बनाएको 'छ एकान छ'कै शृङ्खलाको रुपमा हेरिएको चलचित्रले राजनीतिक विषयवस्तुले समाजमा पारेको प्रभावलाई निकै शालीनताका साथ प्रस्तुत गरेको छ । यसमा दीपक बज्राचार्यको क्यामेराले पनि उत्तिकै साथ दिएको छ । त्यसो त गम्भीर विष्ट र शंकर विसिको कोरियोग्राफी पनि कम महत्वपूर्ण छैन ।
चलचित्र हेर्दै गर्दाको झण्डै अढाई घण्टा दर्शकलाई भरपूर मनोरञ्जन गराउन केदार घिमिरेले कुनै कसर छाडेका छैनन् । तर हाँस्यव्यङ्ग्यको नाउँमा पछिल्लो समयका चलचित्रमा प्रयोग भइरहेका भद्दा संवादबाट पुरा बचेर । अनि यसमा पुरापुर साथ दिएका छन् जितु नेपाल, सिताराम कट्टेल र दयाहाङ राईले । अन्य चलचित्रकर्मीहरूले यसबाट केही पाठ सिक्नुपर्छ । प्रियङ्का कार्कीले आफ्नो भूमिकालाई राम्रो न्याय गरेकी छिन् । नीर शाहको अभिनयलाई तारिफ नगरी रहन सकिन्न ।
प्रविधिको प्रयोग/पहुँच आफ्नो ठाउँमा होला । तर आफ्नै मौलिक परिवेशका कथावस्तुलाई खोजी गरेर 'वडा नं. ६'ले त्यसको प्रस्तुतीलाई पनि वजनदार बनाउन सफल भएको छ । नेपाली चलचित्र निर्माताहरूले यसैगरी आफ्नो प्रस्तुतीमा निखार ल्याउँदै जाने हो भने बलिउडबाट हलिउडसम्म पुगिसकेका नेपाली दर्शकलाई फेरि कलिउडमै फर्काउन अवश्य सफल हुनेछ ।
(जाँदाजाँदै माओवादी जनयुद्धमा होमिएका र एमाओवादीका तर्फबाट पहिलो संविधानसभामा सभासद समेत भइसकेका नेता प्रह्लाद लामिछानेको ॐ हल हेटौँडामा चलचित्र हेरिसकेपछिको प्रतिक्रिया: "हामीले युद्धलाई भोगेर आएका हौँ । त्यसको कथावस्तुलाई कतै तोडमोड पो गर्छ कि जस्तो लागेको थियो । तर रहेनछ । खुशी लाग्यो । चलचित्र उत्कृष्ट बनेको छ ।")

Category:

0 comments