ब्ल्याकमा तेल हाल्दै हुनुहुन्छ ?

Anitya | 7:45 PM | 0 comments

छवि अनित्य, हेटौँडा
२३ असोज, 
‘ब्ल्याकमा पेट्रोल खोज्दै हुनुहुन्छ ? पख्नुस् ! बरु मोटरसाइकल नचलाउनुस् ।
तर ब्ल्याकमा पाइने मिसावटयुक्त तेल मोटरसाइकलमा नहाल्नुस् ।’ यो भनाई हो, भाजुरत्न ईन्जिनियरिङ हेटौंडाका मोटरसाइकल मेकानिक मनोज नेपालीको ।
पछिल्लो समय देशैभर पेट्रोलियम पदार्थको चरम अभाव भैरहँदा कालाबजारीहरुले महँगो मूल्यमा लुकिछिपि तेल उपलब्ध गराइरहेका छन् ।
तर नियमित भन्दा तीन गुणासम्म महँगो मूल्यमा पाइने तेलको गुणस्तर भने हुँदैन । हेटौंडाका गाविन्द पौडलले एक हप्तासम्म पेट्रोलको अभावमा मोटरसाइकल थन्क्याए । पछि ३ सय ५० रुपैयाँ तिरेर पाइएको एक लिटर तेल हालेर मोटरसाइकल त गुडाए , तर दुई किलोमिटरको बाटोमा तीनठाउँमा मोटरसाइकलको इन्जिन बन्द भयो ।
राज मोटर्स हेटौंडाका राजन श्रेष्ठ भन्छन् — ‘ब्ल्याकमा पाइने तेल शुद्ध हुँदैन । मिसावट युक्त तेल हालेपछि त्यसले मोटरसाइकलको कार्बोेरेटरमा सबैभन्दा पहिले असर गर्छ र स्टार्ट बन्द हुन्छ ।’ श्रेष्ठका अनुसार अहिले कालाबजारीहरुले उपलब्ध गराउँदै आएको पेट्रोलमा हार्डवेयर पसलमा पाइने तारपिन (टार्पेन्टाइन), घर रङ्गाउने पेन्ट्समा प्रयोग गरिने थिनर लगायतका केमिकलहरु सबैभन्दा बढी प्रयोग भइरहेका छन् ।
यसले बिस्तारै मोटरसाइकलको भल्भमा असर गर्छ र इन्जिन नै खोल्नु पर्ने हुन्छ । भाजुरत्नका मोटरसाइकल मेकानिक मनोज नेपाली भन्छन् — ‘नयाँ मोटरसाइकलमा मिसावटयुक्त तेल प्रयोग गर्नुभयो भने त त्यसको लाइफ नै गयो ।’ नेपालीका अनुसार दुई हप्ताको बीचमा इन्जिन नै खोल्नुपर्ने गरी ग्यारेजमा चारवटा मोटरसाइकल आइसकेका छन् । मिसावट युक्त तेलको जलन हुँदा रिङ पिस्टनमा कार्बनको मात्रा अत्यधिक जम्मा हुन्छ ।
यसले गर्दा सुरुमा पिक अपमा समस्या देखिन्छ । उनि सुझाव दिन्छन् — ‘बरु यो समस्या नसुल्झेसम्म मोटरसाइकल नचढ्नुस् । तर मिसावट युक्त तेल हालेर इन्जिनको आयु समाप्त नपार्नुस् ।’ ........

घट्यो मोटरसाइकल बिक्रि:

दशैँ मुखैमा छ । यो समयमा अघिल्लो वर्ष राज मोटर्सले दैनिक एक दर्जन भन्दा बढी यामाहा मोटरसाइकल बिक्रि गर्ने गरेको थियो । तर प्रोपराइटर राजन श्रेष्ठले निराश हुँदै भने — ‘अहिले मुस्किलले एक दुई वटा मोटरसाइकल बुकिङ हुन्छ ।’
उता भाजुरत्नले पेट्रोलियम पदार्थको आपूर्ति रोकिएपछि मुस्किलले एक दर्जन मोटरसाइकल बिक्रि गरेको छ । जुन अत्यन्त न्यून हो । त्यसो त अहिले बजारमा मोटरसाइकल गुड्नै बन्द जस्तो भइसकेको छ । कालाबजारीहरुबाट पेट्रोल दिन भ्याउने एकदुईले मोटरसाइकल गुडाएका छन् । सीमाचोकका एक व्यवसायी भन्छन् — ‘कान फाट्ने गरी चर्को आवाजमा मोडिफाइड मोटरसाइकल गुडाउनेहरुबाट भने शान्ति मिलेको छ ।’

ब्ल्याकमा पनि पाइन छाड्यो पेट्रोल:

प्रहरी र आन्दोलनकारी दुबै पक्षबाट कडाई हुन थालेपछि दुई दिन यता कालाबजारीले पनि तेल भित्राउन सकेका छैनन् ।
दैनिक तराईका सीमावर्ती गाउँहरुबाट हेटौंडामा पेट्रोल उपलब्ध गराउँदै आएका एक मोटरसाइकल ग्यारेज सन्चालक भन्छन् — ‘अहिले आन्दोलनकारीहरुले मोटरसाइकलमा पनि फूल ट्याङ्क गरेर ल्याउन दिएका छैनन् । ’ वीरगंज, निजगढ, तथा रौतहटका विभिन्न गाउँहरु र सर्लाहीसम्म पुगेर ल्याइएको तेल हेटौंडामा दुई दिन अघिसम्म उपलब्ध थियो । यसरी ल्याइएको तेल प्रतिलिटर ३ सय रुपैयाँ सम्म उनिहरुले बिक्रि गर्ने गरेका थिए । तर दुई दिन यता त्यो पनि उपलब्ध हुन छाडेको छ ।
सिमरा, निजगढ, चन्द्रपुर लगायतका ठाउँमा आन्दोलनकारीहरुले पेट्रोल पोखिदिन थालेपछि हेटौंडामा कालाबजारी गर्नेहरुले पनि तेल उपलब्ध गराउन सकेका छैनन् । बिहिबारसम्म ३ सय ५० रुपैयाँ तेल बिक्रि भए पनि शुक्रबारबाट भने उपलब्ध हुन छाडेको छ ।

Category:

0 comments